काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गरुडा नगरपालिका-१ का ३३ वर्षीय श्रीवास्तवलाई पर्साको वीरगन्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
उच्च अदालत पाटनले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । राजस्व अनुसन्धान विभागको प्रतिवेदनका आधारमा चलेको मुद्दामा श्रीवास्तव सञ्चालक रहेका पाँच फर्मबाट झुटा तथा नक्कली मूअकर बिजक जारी गरी कारोबार गरेको ठहर भएको सीआईबीले जनाएको छ ।
सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सीआईबीको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।





