काठमाडौँ । हुलाक सेवा विभागले सरकारी कागजात घरमै पुर्याउने कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गरेको छ। सिराहाबाट २०८२ चैत २३ गते सुरु भएको कार्यक्रमअन्तर्गत २०८३ मंसिर २ गतेसम्म १२ हजार ४३३ राहदानी र एक हजार १०६ सवारी चालक अनुमति पत्र सेवाग्राहीको घरमै पुर्याइएको विभागले जनाएको छ।
सरकारको शासकीय सुधारका एक सय कार्यसूचीमा हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने विषय समेटिएको छ। त्यसैअनुसार विभागले नागरिकको घरसम्म कागजात वितरण गर्ने र सरकारी निकायबीच कागजात तथा सामग्री ढुवानी गर्ने सेवा विस्तार गरेको हो।
कार्यालयसम्म ढुवानी र घरमै वितरणको छुट्टाछुट्टै विवरण
विभागका अनुसार हुलाकले तीन लाख ७० हजार ९२५ राहदानी जिल्ला प्रशासन कार्यालयसम्म र १३ लाख ५३ हजार ९० सवारी चालक अनुमति पत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरेको छ।
यसबाहेक हुलाकमार्फत २६५ शैक्षिक प्रमाणपत्र ढुवानी तथा वितरण गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ७२९ नमुना र स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ। नेपाल टेलिकमका ४४ सिमकार्ड सेवाग्राहीको घरमै वितरण गरिएको छ भने २२१ थान सिमकार्ड तथा अन्य सामग्री सम्बन्धित कार्यालयसम्म पुर्याइएको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको छ।
अनुमति पत्र वितरणमा विवरण प्रणाली जोडियो
सवारी चालक अनुमति पत्रको ढुवानी र वितरण सहज बनाउन हुलाक र यातायात व्यवस्था विभागका सूचना प्रणाली जोडिएका छन्। यसका लागि हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८३ असोज ६ गते त्रिपक्षीय समझदारी भएको थियो।
विभागले जग्गाधनी प्रमाणपुर्जा तथा अन्य सरकारी कागजात ढुवानी र वितरणका लागि पनि सम्झौता गरेको छ। विद्यार्थीका शैक्षिक प्रमाणपत्र घरमै पुर्याउने सेवा विस्तार गर्न त्रिभुवन विश्वविद्यालयसँग कात्तिक १७ गते सम्झौता भएको थियो।
आन्तरिक डाँक हवाई मार्गबाट ढुवानी गर्न यती एयरलाइन्ससँगको सम्झौता नवीकरण गरिएको छ। विपद्का बेला पोखराबाट मुस्ताङ डाँक पठाउन मल्लाज हुँदै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रमा सेवा सहज बनाउन चापागाउँमा हुलाक काउन्टर सञ्चालनमा ल्याइएको छ।
अन्तर्राष्ट्रिय ढुवानीका लागि १४ गन्तव्यको योजना
अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि १४ गन्तव्यको मार्ग योजना तयार गरिएको विभागले जनाएको छ। नेपाल र नेदरल्यान्ड्सबीच हुलाक सामग्रीको ढुवानी सहज बनाउने विषयमा बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा दुवै देशका हुलाक निकायबीच छलफल भइरहेको छ।
विभागका अनुसार नेपालले अद्यावधिक गरेका पत्र र पार्सल सेवासम्बन्धी विवरण विश्व हुलाक संघले प्रकाशन गरेको छ। दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि नेपाल हुलाकले एसिया-प्रशान्त हुलाक संघबाट पुरस्कार पनि पाएको छ।
विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयमार्फत हुने अन्तर्राष्ट्रिय कुरियरको संख्या र कारोबार बढेको तथा विश्व हुलाक संघको मुल्यांकनमा नेपालको अंक सुधारिएको बताइन्। सेवा विस्तारका लागि बजेट, स्रोतसाधन र प्राविधिक जनशक्तिको कमी अझै चुनौती रहेको उनको भनाइ छ।
सरकारी कुरियर सेवालाई कानुनी आधार दिन हुलाक सेवा ऐन संशोधनको मस्यौदा मन्त्रालयमा पेस गरिएको विभागले जनाएको छ। विभागले अन्तर्राष्ट्रिय डाँकको लेखा प्रणाली सुधारसम्बन्धी अध्ययन प्रतिवेदन पनि तयार गरेको छ।





