काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्न र यसको स्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा फेसबुक मार्फत प्रधानमन्त्री शाहले २०३८ सालदेखि सुरु भएको प्रतियोगिताका हालसम्म नौ संस्करण मात्र आयोजना भएकोप्रति दुःख व्यक्त गरेका छन्।
प्रत्येक दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहे पनि त्यसअनुसार निरन्तरता दिन नसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा नियमित आयोजना सुनिश्चित गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन्।
कर्णाली प्रदेशले पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको सन्दर्भमा प्रधानमन्त्री शाहले प्रतियोगिता सफल बनाउन स्थानीय नागरिकको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।
दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा गर्ने कार्यक्रम छ। प्रतियोगिताअन्तर्गतका मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि सञ्चालन हुनेछन्।
प्रतियोगितामा देशभरबाट आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल पदाधिकारी सहभागी हुनेछन्। खेलहरू कर्णालीका विभिन्न जिल्लामा आयोजना गरिनेछन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुदलाई खेलाडीको क्षमता प्रदर्शन र नयाँ प्रतिभा पहिचान गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। प्रतियोगिताले खेल पूर्वाधारको विकासमा योगदान पुर्याउनुका साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट कर्णालीको ऐतिहासिक तथा सांस्कृतिक पहिचान, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई देशव्यापी रूपमा परिचित गराउने अवसरसमेत प्राप्त हुने उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले प्रतियोगिताको सफलताको कामना गर्दै ‘जय कर्णाली, जय खेलकुद र जय नेपाल’ भनेका छन्।





