माटोमा ममता छरौँ दिन–दिनै यै राष्ट्र ब्यूँझाउन
एकै साथ जुटौँ विकासपथमा नेपाल देखाउन ।
कान्लामा पनि रोप बोट–विरुवा जोगाउँदै सम्पदा
डाँडामा फल फल्छ हेर सहजै बाली बढी झम्कँदा ।।
शाहा वंश सँगै मिलेर जनता लड्थे सँगै साथमा
सारा राज्य जितेर स्वर्ग सरिको नेपाल भो हातमा ।
योद्धा वीर थिए सबै पुरुष ती पुर्खाहरु जो थिए
धेरै राज्यहरू जुटाइ सँगमा यौटै बनाई दिए ।।
आफ्नै प्राँण सरी गरी हरघडी यै देशका खातिर
माया प्रेम गरी अघोर ममता छर्दै रहे आखिर ।
त्यस्तै सिक्नु यहाँ सबै जन मिली पुर्खाहरुका कथा
जान्दा वेश हुने छ गाऊँ घरमा दुख्दै बितेका व्यथा ।।
उर्लन्छन् नव चेतना सब यहाँ आसा भरोसा गरौँ
सारा मानवता मिलेर अवता निर्माण हामी गरौँ ।
बाल्नु पर्छ टुकी नयाँ सहरमा छल्काउँदै चेतना
हिड्नु पर्छ सबै मिलेर जगमा पन्छाउँदै वेदना ।।
पढ्ने पर्छ पुराणका विषयमा गर्दै मिठो वन्दना
आफ्नो भेष–भुषा बचाउन यहाँ हामी गरौँ प्रार्थना ।
सारा ज्ञान छरी हटाउँ विकृती गर्दै नयाँ सिर्जना
हाम्रो जन्म धरा छ स्वर्गसरिको मिल्दैन है विर्सन ।।







