काठमाडौं । विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा नरहने भएका हुन् ।
अघिल्लो संसद्मा रहेका ती सांसद प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । अब गठन हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक गरी कुल) २ सय ७५ र प्रदेशसभा (सातवटै प्रदेशको प्रत्यक्ष तथा समानुपातिक गरी कुल) ५ सय ५० संख्याको संसद् बन्दासमेत विघटित संसद्का २ सय ८१ सांसदले निर्वाचनमा टिकट हात पार्न सकेनन् ।
सबैभन्दा बढी एमालेबाट प्रतिनिधित्व गरेका १ सय २१ सांसद निर्वाचनको ‘रिङ’ बाहिर परेका छन् । एमालेले आफ्नो कुल १ सय ८० सांसद्मध्ये ५८ जनालाई मात्रै आउने संसद्का लागि उम्मेदवार बनाएको छ । तीमध्ये प्रदेश तथा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५३ जना र पहिले प्रत्यक्ष निर्वाचन लडेर जितेका तर अहिले समानुपातिकमा पाँच जनालाई समेटेर उम्मेदवार बनाइएको छ ।
अन्य निवर्तमान सांसदलाई भने उसले दोहोर्याएको छैन । उसले अधिकांश नयाँ अनुहारलाई प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । एमालेले कास्की–४ बाट जितेकी सीता गिरी ओली, बझाङ–२ बाट जितेका लालबहादुर रावल, मुगु–१ बाट जितेका मोहन बानियाँ, बाँके–२ बाट निर्वाचित दिनेशचन्द्र यादव र बाजुरा-१ बाट निर्वाचित कर्णबहादुर थापालाई मात्रै यसपटकको प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपतिक उम्मेदवार बनाएको छ ।
कांग्रेसले भने विघटित संसद्कै बहुमत सदस्यलाई आगामी संसद्का लागि अगाडि सारेको छ । कुल २०७ सांसदमध्ये कांग्रेसले ८४ जनालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै दोहोर्याएको छ । उसले २५ निवर्तमान सांसदलाई भने यसपटक समानुपातिकतर्फ र ३१ जनालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ । उसका १४० जना पुरानै सांसद अहिले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार छन् । अन्य नेता भने कांग्रेसमा पनि रिङबाहिरै पुगेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।