काठमाडौं । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनको मतगणना चैत १९ गते काठमाडौंमा हुने भएको छ । देशभरिबाट मतपेटिका काठमाडौंमा सङ्कलन गरेपछि यहि काठमाडौंमा मतगणना हुनेभएको हो ।
बारको चुनावमा पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।
शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार छन् ।
निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।