कमाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीले धनजनमा पुर्याएको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर बारा र पर्सामा भएको क्षति प्रति सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका हुन् ।
उनले मृतकप्रति शोक व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् ।
उनले उद्धारमा सुरक्षाकर्मी परिचालन भइसकेको र आज विहानै देखि उद्धारका लागि हेलिकोप्टरसमेत तयारीमा राखिएको जानकारी दिएका छन् । उद्धारमा गम्भीर हुन र घाइतहरुको उपचारमा कुनै कमी हुन नदिन ट्वीटरमार्फत निर्देशन दिएका छन् ।
आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर ३१ जनाको मृत्यु भएको छ भने ४ सय जना भन्दा बढी घाइते भएका छन् । अझै यो संख्या बढ्न सक्ने देखिएको छ ।







