वीरगन्ज । वडा सदस्यहरुले विभिन्न माग राखेपछि वीरगन्ज महानगरपालिकाको चौथो नगरसभाको बन्दसत्र पुनः स्थगित भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित बन्दसत्र कार्यक्रमको शुुरुमै वडा सदस्यहरुले माग राख्दा नगरसभा बन्दसत्र कार्यक्रम स्थगीत भएको हो ।
सदस्यहरुले महालेखा परीक्षकले बेरुजु गरेका पेश्की तथा भत्ता मिनाहा हुनुपर्ने, प्रत्येक महिना १०लिटर पेट्रोल र संचार खर्च पाउनुपर्ने, वार्षिकरुपमा कपडा भत्ता पाउनुपर्ने, वार्षिकरुपमा कम्तिमा दुई पटक विदेश भ्रमण सुविधाको व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग राख्दै ह्विप जारी गरेका थिए ।
महिला सदस्यहरुले नगरसभाको बन्दसत्रमा सहभागीता जनाउन चाहेपनि अगुवा वडा सदस्यहरुले हस्ताक्षर गर्न नदिने ह्विप जारी गर्दै कार्यक्रममा सहभागी नहुन दवाव दिएका थिए । दबावपछि बन्दसत्रमा सदस्यहरुको गणक संख्या कम भएको भन्दै सभा स्थगीत गरिएको थियो ।
नगर प्रमुख विजय कुमार सरावगी लगायत विभिन्न वडा अध्यक्षहरुले नियम अनुसार पूरा गर्नसकिने माग राख्न अनुरोध गरेका थिइ । वडा सदस्यहरुको मागमा परिवर्तन नआएपछि प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले नगर सभाको बन्दसत्र स्थगित गरिएको घोषणा गरेका थिए ।






