श्रीमान् महालेखा नियन्त्रक ज्यू
महालेखा नियन्त्रक कार्यालय अनामनगर, काठमाडौँ ।
विषयः– गुनासो सम्बन्धमा ।
श्रीमान् म उमेरले ४८ वर्ष र जागिरमा एउटै श्रेणीमा १५ वर्ष र स्वास्थ्य बिग्रेर ७५ प्रतिशत मरेको अवस्था बाँकी २५ प्रतिशतको धुकधुकी लिएर सेवामा अनवरत खटिई रहेको छु । श्रीमान् मेरो लामो समय सम्म वृत्ति विकास रोकियो यसको एकमात्र कारण अस्वस्थ शरीर नै हो, यसमा कसैको दोष छैन ।
म मेरो स्वास्थ्य अवस्था बिग्रन थालेपछि घरपायक जिल्ला झरेँ । सुर्खेत झरेको अब १० वर्ष पुग्दैछ । एउटै श्रेणीमा यति लामो समय काम गरिरहँदा आफूभन्दा कैयन जुनियर साथीहरू बढुवा भएर अधिकृतको बढुवा प्रतीक्षामा बसिरहेका छन् र मैले जागिर खादा कार्यालय सहयोगी–श्रेणीविहीन पदमा काम गरेका साथीहरू पनि अहिले कोही आ.प्र.र फाइल बढुवाबाट खरिदार सह–लेखापाल हुँदै ना.सु. लेखापाल भइसके, यसमा पनि कसैको दोष छैन मेरै स्वास्थ्य बाधक हो ।
विभिन्न अन्य संस्थाहरूमा अथायीरस्थायी सेवा गर्दै उमेरले ३४ पार गरेपछि २०६२ सालमा निजामती सेवामा रा.प.अनं.द्वितीय श्रेणीमा प्रवेश गरी १ वर्ष हुम्ला र ६ महिना बर्दिया र २७ महिना कालिकोट बसेँ । उमेर ४० नजिक पुग्दा कडा रोगले गाँजे पछि बल्लतल्ल सुर्खेत झरेँ रोगको अनेकन् उपचार गर्दा पनि ठिक नभएपछि शरीरको महत्त्वपूर्ण अङ्ग नै काटेर फाल्नु पर्यो ६ वर्ष अघि त्यो अङ्ग फाले पछि पनि शरीर दिनानुदिन बुढो हुँदै गयो । अनेकन् रोगहरूले गाँज्दै गयो । नियमित फलोअपमा काठमाडौँ धाउँदा आर्थिक सङ्कट पर्दै गयो । रोगहरू पनि थपिँदै गएपछि जिल्ला बाहिर बढुवाका लागि जान सक्ने आँट गर्न सकिनँ ।
श्रीमान् अहिले पनि मैले प्रेसर, पेङ्क्राइष्ट, पार्किन्सन, पायल्स, कलेजो, प्रोस्टेट लगायत ६ थरीको नियमित औषधी सेवन गरिरहेको छुँ । यी औषधीमा महिनाको ६ देखि ८ हजार लाग्दछ । घरमा २ वटा बच्चाको पढाइ खर्च एउटा १२ र अर्को ९ मा अध्ययन गर्दैछन् उनीहरूको पढाइ खर्च र घर खर्च चलाउन निकै कठिन भइरहेको छ । बच्चाहरूको आधारभूत आवश्यकता पुरा गर्न कठिन हुँदा कहिले काहीँ बच्चाहरू भन्छन् ‘बाबा अब अर्को साल देखि त म पनि कलेज पढ्न पर्छ पैसा धेरै लाग्छ, तपाईँको प्रमोसन हुने बेला भएनर’ भनेर सोध्छन्, ‘हुँदैन बाबु जिल्ला बाहिर जान सकिँदैन यहाँ बढुवा हुँदैन रे’ भनेर टार्छु ।
बच्चाहरू ‘बाबा बाहिर त नजानुस् स्वास्थ्य राम्रो छैन बरु हामीहरू सरकारी स्कूलमैं पढ्छौँ’ भन्दै सम्झाउँछन् त्यस पछि भक्कानो छुटेर आउँछ एक्लै रुनुको विकल्प रहेन एक छिन रुन्छु फेरि बच्चाहरूलाई हेर्छु आँसु लुकाउँछु यसरी नै २५ प्रतिशत जीवित अङ्गहरू लिएर दिन व्यतीत गरेको छुँ ।
श्रीमान् मैले वृत्ति विकासका लागि कोलेनिका सुर्खेत मार्फत मलेनिकामा अनुरोध गर्न थालेको ५ वर्ष भयो । विगत १० वर्ष यता सुर्खेत जिल्ला मलेनिकाले सुरक्षाको दृष्टिले यति संवेदनशील जिल्ला ठान्न थाल्यो कि यहाँ भर्खर लोक सेवा पास गरेका १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका लेखापालहरू मात्रै राख्न थाल्यो, बुढापाकाहरूलाई जिल्ला बाहिर कटाउने र उक्त उमेर समूहका नव जवानहरूलाई सुर्खेत पठाउन थाल्यो त्यसैले गर्दा मैले यहाँ वृत्ति विकासको अवसर पाउन सकिँन मेरो पहुँच पनि भएन पैसा पनि भएन ।
मलेनिकाले हरेक वर्ष सार्वजनिक गर्ने सरुवा मापदण्ड हेर्थेँ यसपालि त मापदण्ड अनुसार गर्यो भने कसो एक सिट बढुवामा नपर्ला, मेरो जति लामो सेवा गरेका त यहाँ कोही पनि छैनन् भन्थेँ । कहाँ खाली हुन्छ भनेर हेर्थेँ तर कहिल्यै खाली नहुने भयो । यहाँ त हरेक वर्ष रिक्त हुने पदमा भर्खर लोकसेवा पास गरेका, हेर्दा खेरि लक्का जवान आर्मी प्रहरीमा भर्ती हुने खालका लेखापालहरू मात्रै पठाउने सरुवा गर्न मिल्नेलाई सरुवा, सरुवा गर्ने न्यूनतम अवधि पनि नपुगेका लाई अनिश्चित कालीन काजमा राख्ने र सरुवा गर्न मिल्ने बाटो खुलेपछि त्यहीँ, चाहे त्यहीँ, नभए राम्रै मानिएका कार्यालयमा सरुवा गरिदिन थाल्यो ।
निसेनिमा भएको सरुवा अनुसार लोक सेवाले नियुक्तिका लागि सिफारिस गरेको भौगोलिक क्षेत्र नासु वा सो सरहको हकमा सिफारिस गरिएको विकास क्षेत्रमा ५ वर्ष अवधि नपुगी सरुवा गरिने छैन भन्ने व्यवस्थालाई समेत मिचेर कसैलाई काजको रूपमा र कसैलाई सरुवा नै गरिदिन थाल्यो । जसले गर्दा सुर्खेत जिल्लामा बढुवाको प्रतीक्षा गरेर बसेका र सशरीरिक रूपमा अस्वस्थ उमेरले ४० वर्ष काटेका कर्मचारीहरूलाई जिल्ला कटाउने खेल सुरु गरियो । त्यसैको सिकार म र एक जना सुर्खेत जिल्लामै शारीरिक रूपमा म पछि दोस्रो रोगी उहाँ रोगको उपचारका लागि भारतका दिल्ली, लखनउ र काठमाडौँका उपलब्ध सबै अस्पतालहरू पुगेर पनि उपचार नभएर रोग सँग लड्दै गरेका जो मेरो अति निकटका मित्र पनि हुनुहुन्छ । उहाँ र म कालिकोटमा पनि सँगै २८–३० महिना बसियो जसको दिशा बस्दा रगत थाम्नै गारो हुन्छ, अब आन्द्राभुँडी नै बाहिर झर्छ कि भन्ने डरले मल द्वार कसेर उठ्छु भन्नुहुन्छ ।
एक दिन उहाँलाई मलेनिकाले सरुवा चलाउँदै छ भन्ने हल्ला कसैले सुनाएछ र त्यसको पहिलो तारो उहाँ नै बन्ने पनि पक्का भएको खबर आए पछि उहाँलाई तपाईँलाई यहाँबाट सरुवा गर्दैछन् । सुरक्षित ठाउँ खोज्नुस् भनेपछि अन्यत्र नहुने भएपछि कोलेनिका डोल्पा जाने इच्छा राख्नुभएछ । र उहाँले मलाइ भेट्नुभयो सरमलाई त सरुवा गराउने कुरा आयो हजुरको बढुवा हुन्छ कि त भन्नु भयो खै कसले गरिदिने हाम्रो आवाज सुन्ने को छ र त्यहाँ न तपाईँको छ, न मेरो छ भनेर उहाँलाई जवाफ दिएँ ।
हजुर पनि ४० माथिको म ४८ को यो उमेर समूहलाई सुर्खेतमा बस्न दिँदैनन् सर यहाँ त डनहरू मात्र बस्ने हो । ‘मेरो लागि त्यो स्थान कसले रोक्देला र ?’ भने मैले । उहाँले मलाई म भन्दा रोगी र म भन्दा पीडित हजुर हुनुहुन्छ म हजुरका लागि हो भने बाहिर जान्छु भन्नु भयो र त्यहीँ अनुसार कोलेनिका मार्फत मलेनिकामा अनुरोध गरेको त त्यहाँका श्रीमान् सह–महालेखा नियन्त्रक एवं प्रवक्ता ज्यूले ‘१५–१६ वर्ष सम्म एउटै जिल्ला बस्ने बढुवा पनि खोज्ने बढुवा खाने भए हिमाली जिल्ला खाली गराइदिन्छु, त्यहाँ जाने भन्नुस्’ भनेर जवाफ दिनु भएछ । मलेनिका लेखा समूहको कर्मचारीहरूका लागि पिता समानको निकाय हो ।
त्यहाँ हाम्रा पिताहरू हुनुहुन्छ उहाँहरूले कुनै पनि छोरालाई भेदभाव हुने खालको व्यवहार गर्नुहुँदैन भन्ने ठानेको थिए । पौष १ गतेको सरुवा निर्णय भनी पौष ३ गते एका बिहानै मलेनिकाको वेब पेजमा सरुवा सूची आयो । मेरा प्रिय साथीको नाम देखेँ डोल्पा कोलेनिका । उहाँको पुल दरबन्दी थियो सुर्खेतमा । यहीँको अवधि पुगेको कसैलाई सारेर कार्यालय खाली गरेको होला भनेर उहाँको स्थानमा हेरेको त २०७२ सालमा निजामती सेवा प्रवेश गर्नुभएका २०४९ सालमा जन्मनु भएका सेवा शुरुवातमैं बाँके जिल्ला जस्तो सुगम जिल्ला पाउनु भएका लेखापाल सरको सरुवा भएछ । उहाँलाई सरुवा गर्ने निकायलाई धन्यवाद दिनै पर्छ । एउटा ४० कटेको रोगीलाई हिमाल पुराएर नव जवानलाई ल्याउनु भएछ । चार पाँच वर्ष देखि बढुवाको प्रतीक्षा गरेको यसपालि पनि विज्ञापन हुने समय नजिकिँदै जाँदा सुर्खेतलाई स्थान नछाडे पछि यस वर्ष पनि आशा मर्यो । ऊर्जा मर्यो । एउटै जिल्लामा १५–१६ वर्ष भन्नुभएछ श्रीमान् ले एक पटक मेरो पी.आइ.एस.हेर्न अनुरोध गर्दछु । र त्यसको उत्तर माथि उल्लेखित ब्यहोराबाट पनि अवगत गराउन चाहन्छु ।
श्रीमान् महालेखा नियन्त्रक ज्यू समक्ष निम्न अनुरोध गर्ने आज्ञा मागेँ आज्ञा हुनेछ ।
१. श्रीमान् कुनै पनि कर्मचारीलाई सेवा प्रवेश गरेपछि निश्चित अवधि पछि बढुवा हुने चाहाना हुनु स्वाभाविक हैन र कोही खुला प्रतियोगिताबाट बढुवा हुन्छन् भने खुलाबाट नसक्नेहरू बढुवाकै भर पर्ने हो के मैले यो अवसर खोज्नु गलत हो ।
२. श्रीमान् हिमाली जिल्लाहरूमा त नव जवानहरूलाई पठाउनु पर्ने हैन र किनकि नवजवानहरु सँग सेवा प्रवेश गरेको १०–१२ वर्षसम्म त भरपुर ऊर्जा हुन्छ किन त्यस्ता ठाउँमा रोगीहरू र उमेरले डाँडो काटेकालाई पठाउन थालियो ।
३. सरुवा मापदण्डमा सरुवा गर्दा कर्मचारीको वृत्ति विकासलाई असर नपर्ने गरी सरुवा व्यवस्थापन गरिनेछ भनिएको छ के त्यो पुरा भएको छ । श्रीमान् ले त्यसमा नजर पुराइबक्सेको छ ।
४. सुर्खेत जिल्ला लेखापालहरूको सरुवाको लागि अत्यधिक चाप भएको जिल्ला हो त्यसमा म सहमत छु तर यहाँ सरुवा भई आउने कर्मचारीहरूको सूची हेर्यो भने आफूलाई अनुकूल कार्यालय मिले दुर्गम नभन्ने प्रतिकूल कार्यालय पर्यो भने सुर्खेतै झर्ने के सुर्खेत बाहिर आफू अनुकूलको कार्यालयमा न्यूनतम अवधि पुगे पछि अर्को एक अवधि त्यहीँको साधारण कार्यालयमा राख्दा फरक पर्छ र ?
५. सुगम होस् दुर्गम होस् रोगी होस् निरोगी होस् उसको वृत्ति विकास जस्तो विषयमा वृत्ति सरुवाको विषयलाई लिएर सौदावाजी गर्नु उचित हो । मलेनिकाले वृत्ति विकास र सरुवालाई सौदाबाजीको रूपमा लिँदै गयो । कम्तीमा पनि उसको पिआइएस हेरेर १० वर्ष एउटै श्रेणीमा जहाँ बसेको छ त्यहीँ बढुवा हुने निश्चितता गर्दा अर्को ५–७ वर्ष त्यस जिल्लामा बढुवाको समस्या पर्दैनथ्यो । सुर्खेतमा मात्र नभई सायद नेपाल अधिराज्यमै योग्यता पुगेर यति लामो समयसम्म सह–लेखापाल पदमा काम गर्ने म मात्रै हुँला । एक पटक यो विषय हल गरे पछि सुर्खेतमा १० वर्ष यो झन्झट व्यहोर्न पर्दैन । किनकि यहाँ सह–लेखापालहरूको सरुवाको चाप छैन, यहाँ बसेर बढुवा हुँदैन भनेर बाहिरै बस्ने र बढुवा हुने बित्तिकै यहाँ झर्ने प्रवृत्ति रहेको छ ।
श्रीमान् समक्ष मैले यति कुरा राख्ने अनुमति मागे गल्ती भए माफ पाउँ । यो विषयलाई सम्बोधन होस् सुर्खेतमा अवधि पुगेका धेरै लेखापाल सरहरू हुनुहुन्छ । उहाँहरूलाई यता उता सारेर एक पटक वृत्ति विकासको अवसर प्रदान होस् । साथै यो विषय त्यहाँबाट सम्बोधन नभए सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष बिन्ती पत्रको रूपमा पेस गर्नेछु । अन्यथा भए माफ पाउँ ।
सदा आज्ञाकारी
सह-लेखापाल कृष्ण प्र. ढुङ्गाना
कोलेनिका सुर्खेत
सङ्केत नं.१८४९९२







