काठमाडौँ । काठमाडौँ उपत्यकामा तेल सहज वितरण गर्न नसकेको भन्दै आयल निगमका दुई उच्च अधिकारीलाई सरुवा गरिएको छ ।
आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र उपत्यकासहित बाग्मती प्रदेशमा इ्रन्धन वितरण गर्ने थानकोट डिपो प्रमुख विनितमणी उपाध्यायलाई शुक्रवार राति सरुवा गरिएको हो ।
भारतबाट पर्याप्त मात्रामा इन्धन आइरहेको भए पनि सहजरुपमा विक्रिवितरण नभई रहेको भन्दै उनीहरूको सरुवा गरिएको निगम स्रोतले जनाएको छ ।
निगम प्रवक्ता समेत रहेका गोइतलाई प्रबन्ध निर्देशकको कार्यालयमा सरुवा गरिएको छ भने थानकोट डिपो प्रमुख उपाध्यायलाई केन्द्रीय कार्यालय तानिएको छ । थानकोटमा निगमका निर्देशक प्रदीप यादवलाई थानकोट डिपो प्रमुखको जिम्मेवारी दिइएको छ ।







