बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्यधिक भिडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधवार सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दा सम्बन्धी काम र अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू माघ ६ गतेदेखि अर्को सूचना नभएसम्मको लागि बन्द गरेको जानकारी गराएका छन् ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस प्रमाणित, नाबालक परिचय पत्रलगायतका सेवाहरू स्थगन भएको उल्लेख छ । प्रशासनले अत्यावश्यक सेवा लिन आउनेका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।