काठमाडौँ । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले एक किशोरीमाथिको जबरजस्ती करणीको अभियोगमा शाहलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
बुधवार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटक पटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।






