काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा चिनियाँ विदेश मन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताएका थिए ।
अध्यक्ष दाहालसँगको भेटमा रहेका उनका स्वकीय सचिव रमेश मल्लले भने, ‘भेटमा नाकाबन्दीपछि परेको समस्याको बारेमा कुरा उठाएका थियौँ । विदेश मन्त्री वाङले रसुवागढी र तातोपानी नाका खोल्न हामी सकारात्मक छौँ भन्नुभयो । कोरोनाका कारण नाका खोल्न समस्या भएको हो । अन्य नाकाहरूको विस्तारका लागि पनि सकारात्मक रहेको जानकारी गराउनु भयो ।’
भेटमा दाहालले चीनसँगको बढ्दो व्यापार असन्तुलनको विषयमा समेत चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । भेटवार्तामा दाहालसँगै विदेश विभागमा प्रमुख नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, स्वकीय सचिवहरू गङ्गा दाहालको सहभागिता रहेको थियो ।
नागपोखरीस्थित म्यारियट होटेलमा माओवादी केन्द्रको टोलीसँग विदेश मन्त्री वाङले आइतबार करिब ४५ मिनेट भेटवार्ता गरेका थिए ।







