काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत भइरहेका काम तोकिएकै समयमा सक्न निर्देशन दिएकी छन् ।
आज (बुधबार) बिहान गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न निर्देशन दिएकी हुन् । उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् ।
मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थाबारे मन्त्रालयले सकारात्मक रहे पनि मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने प्रष्टीकरण दिइन् ।
उनले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नु पर्ने बताइन् ।
अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको र दोस्रो तथा तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिए ।
पुरातात्त्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरू समयमै काम सक्न प्रतिबद्ध प्याकुरेलले बताए ।
निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको उनको भनाइ छ ।