काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन् ।
कार्कीले ११ हजार ३२२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन् । यस पटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लडेका थापा तेस्रो भए ।
यसै गरी उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गरेकी छन् । उनलाई पछ्याउँदै नेकपा ९माओवादी केन्द्र०का भोला चापागाईँले पाँच हजार ४२२ मत पाए।
नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेस वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ ।
नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमाले छ वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । काँग्रेसले तीन वटा वडामा मात्र जितेको थियो ।