काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले शुक्रबार शीर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ ।
शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र शीर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजकसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
सरकारमा सहभागी दलहरूको सुझाव लिँदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रूप दिने उनले बताए । कार्यदलका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताए ।
कार्यदलको बैठक शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेछ । पुस १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता छ ।
संसद्मा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी छ ।