काठमाडौँ । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताइन् ।
गैरआवासीय नेपाली सङ्घको युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको पहलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौड्यालले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरूमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरूले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताइन् ।
आइतबार मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको उनको भनाइ थियो । यसअघि गैरआवासीय नेपाली सङ्घका अध्यक्ष त्रयसहितको प्रतिनिधि मण्डलले काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौड्याललाई आग्रह गरेको थियो । युरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौड्यालले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताइन् ।