काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर-२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर उनले निवेदन दिएका हुन् ।
चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका थिए । नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने मागसहित आयोग पुगेका हुन् ।
उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।
सहायक प्रवक्ता अर्यालले चितवन–२ मा उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।