काठमाडौँ । सप्तरीस्थित एनआइसी एसिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको पाइएको छ ।
ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो ।
प्रबन्धक यादवले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको नयाँ पत्रिकालाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख छ ।
विवरण अनुसार किर्ते जग्गाधनी राजविराज नगरपालिका-९ (तत्कालीन मलेठ गाविस वडा नम्बर ७) की वसिरन खातुनलाई प्रसवनी-९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ ।
सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ । तर, प्रबन्धक यादवले खातुनलाई जग्गाधनी बनाइ एनआइसी एसिया बैंक राजविराज शाखाबाट आइतबार रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा जग्गा रोक्का गरिएको छ ।
स्रोतकाअनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खाँनले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् । यस्तै, एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।
प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिए लगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले प्रसवनी-९ (गं को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको स्पष्ट पारे ।
एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफूलाई जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारबाही हुने बताए ।



