काठमाडौँ । दाङको तुलसीपुरमा झन्डै पाँच ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
सोमबार राति पौने १० बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुको दाजुभाइ चोकका २३ वर्षीय रूपकराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
लागु औषधको चेकिङ गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार कोहलपुरस्थित तालिम केन्द्रबाट दुई वटा कुकुर झिकाएको थियो।
ब्युटी नामको कुकुरलाई तुलसीपुर–सल्यान रुटको गोटी खोला चेकपोस्टमा खटाइएको थियो। ‘एलेक्स’ नामको कुकुरलाई दक्षिण नाका दमार गाउँमा खटाएको थियो।
सवारी चेक गर्ने क्रममा एलेक्सले नेपालगन्जबाट तुलसीपुर आउँदै गरेको माइक्रो बसबाट ६ पोका ब्राउन सुगर फेला पारेको हो ।
रा १ ख २८७२ नम्बरको माइक्रो बसको सिट पछाडि ब्राउन सुगर फेला पारेको हो। कुकुरले पत्ता लगाएपछि उनले पनि ब्राउन सुगर आफ्नै भएको स्वीकारेका हुन्।
उनीमाथि थप सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।