काठमाडौँ । काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध किर्ते हस्ताक्षर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ।
गाउँपालिकाका अध्यक्ष, अध्यक्षको प्रमुख सल्लाहकार र गुम्बा व्यवस्थापन समिति तथा गुम्बा पुनर्निर्माण समितिका अध्यक्षले मिलेर आफूखुसी किर्ते हस्ताक्षर, गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समिति फेरबदल गरी समितिको खातामा रहेको रकम हिनामिना गरेको आरोप लगाउँदै समितिका तत्कालीन सचिव र कोषाध्यक्षले जिल्ला प्रशासन कायालयमा निवेदन दिएका हुन्।
निवेदनअनुसार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, भुम्लु गाउँपालिका-५ स्थित मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बाका अध्यक्ष डुक्मा दोर्जे लामा, गाउँपालिका अध्यक्ष भुजेलका प्रमुख सल्लाहकार तुलसी मान तामाङविरुद्ध किर्ते हस्ताक्षर र रकम हिनामिना गरेको आरोपमा गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङ र सदस्य भोजबहादुर तामाङ लामाले संयुक्त रूपमा निवेदन सिडिओ कार्यालयमा पेस गरेका छन्।
