काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तार आयोजना अन्तरगत साइट क्लियरेन्सको काम फेरि सुरु भएको छ ।
यस क्रममा टोखा नगरपालिकाको गोङ्गबु क्षेत्रको शिव मन्दिर सहितको संरचना डोजर लगाएर हटाइएको छ ।
काठमाडौँ महानगरपालिका र टोखा नगरपालिका क्षेत्रमा पर्ने चक्रपथको साइट क्लियर भइरहेको आयोजनाका प्रवक्ता रामहरि पोखरेलले बताए ।
उनले बिस्तारको काम भने अहिले सुरु नभए पनि क्लियरेन्सको काम मात्र भइरहेको बताए । उनले भने, ‘चक्रपथको डिजाइनमै काम गर्न अझै बाँकी छ, तर यो बिचमा साइटमा पर्ने केही मन्दिर, संरचना आयोजनाले भत्काइरहेको छ । साइट क्लियरेन्सको काम निरन्तर हुन्छ ।’
साइट क्लियर नहुँदा चक्रपथ विस्तारको काममा ढिलाइ हुँदै आएको छ । कलङ्की–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलङ्की–बालाजु–महाराजगन्ज चक्रपथ खण्ड विस्तारको डिजाइन कार्य अघि बढ्ने भएको छ ।
यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ ।
चीनले नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्व तयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब साढे ४ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।
हालै सो खण्डको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन छोङ्गले स्थलगत अवलोकन गरेका थिए ।
सो क्रममा मन्त्री श्रेष्ठले चक्रपथको दोस्रो खण्डको विस्तार छिटै सुरु हुने बताएका थिए ।







