काठमाडौँ । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसदमा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएपछि संसद्लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रम महिनामा एकपटक अनिवार्य गर्न लागिएको समिति सदस्य एवं नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।
संसद्का शून्य, विशेष र आकस्मिक समयमा उठाइएका प्रश्नको जवाफ विभागीय मन्त्रीले नदिने गरेको भन्दै जबाफदेही बनाउनुपर्नेमा समेत सांसदले जोड दिएका थिए ।
भोलि (सोमबार)देखि तीन दिनसम्म बिहान ११ देखि बेलुका ५ बजेसम्म सभा सञ्चालन गर्नेलगायत विषयमा बैठकमा छलफल भएको उनले बताए ।
संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।