काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले जलविद्युत विकासका क्षेत्रमा दलहरूले साझा धारणा बनाउनुपर्ने बताएका छन् ।
संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले मन्त्रालयले नेतृत्व गरेर जलविद्युत सम्बन्धी सबै दलहरूका साझा धारणा बनाउन सक्रियता लिनुपर्ने बताए । ‘कमिटमेन्ट आउने परिस्थिति निर्माण गरोस् ।
पार्टीका मुख्य मान्छे बोलाउने, बोलाएर एउटा निश्चित अवधारणा प्रस्तुत गर्ने, यो अवधारणा कार्यान्वयन भयो भने लक्ष्य हासिल गर्न सक्छौँ भनेर मन्त्रालयले भन्नुपर्यो’ बैठकमा पौडेलले भने । दलको प्रतिबद्धता भए पार्टीका तल्लो तहका संरचनाले अवरोध गर्न नसक्ने अवस्था हुने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र समाधानका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छलफलका क्रममा सांसद पौडेलले भने,‘जलविद्युत राष्ट्रिय प्राथमिकता हो भने लगानी त्यही अनुसार हुनुपर्यो । नियम त्यसअनुसारको बनाउनुपर्यो । मन्त्रालय त्यही अनुसार प्राथमिकता निर्धारण गर्नुपर्यो ।’
वन मन्त्रालय र ऊर्जा मन्त्रालयबीच समन्वयको अभाव हुँदा जलविद्युत परियोजना निर्माणमा समस्या देखिएको पौडेलले बताए । जलविद्युत परियोजना कच्चा पदार्थको अभावका कारण समयमा सम्पन्न हुन नसक्नु स्वभाविक नभएको उनको भनाइ थियो ।







