काठमाडौँ । बुधवार बिहानै देखि सुचारु भई सके भनिएका सिंहदरवारस्थित धाराहरूमा साँझसम्म पनि पानी देखिएन । अन्य कर्मचारीले ढाँट्नु त स्वाभाविकै हो तर नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवले नै भनेको नपत्याउनु पो कसरी !
जार तथा बोतलको पानी विस्थापित गर्दै कर्मचारी र सर्वसाधारणसमेतलाई सिधै धाराबाट पिउन सक्ने भन्दै जडान गरिएका तीन वटा धाराहरूमा महिनौँपछि बिहीबार बिहानैदेखि पानी आई सकेको खानेपानी सचिव राम आधार साहले बताएका थिए । धारामा पानी नआउने गरेको गुनासोसँगै प्रशासनले खोजीनिती थालेको खबरपछि रातारात बनाउनतिर लागे र बिहानै सचिव साहले भने, ‘अब तपाईँको समाचार नबन्ने भो, बिहानै देखि पाई आई सक्यो !’
सम्बन्धित समाचार : सिंहदरवारकै धारामा आउँदैन पानी, छैन सचिवलाई सरम
होला पनि भनियो तर दिउँसो धाराहरू हेर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक अन्य धाराहरूबाट हावा पनि छिसछिस गर्न छोडिसकेको थियो ।
स्वयं खानेपानी मन्त्रालयकै धारामा साँझ ५ बजेसम्म पानीको थोपासमेत चुहेको थिएन भने गृह मन्त्रालय प्राङ्गणस्थित धारामा पनि हावा मात्रै सुसाई रहेको थियो ।

यसबाट कामप्रति उच्च पदस्थहरूकै उदासीनता मात्रै प्रष्ट हुँदैन, गाल पर्ने ठाउँमा टालटुल गरेर अरू बालमतलवको प्रवृत्ति अझै कायम छ कर्मचारीहरूमा । प्रधानमन्त्रीसम्मै कुरा पुग्ने सक्ने भएपछि रातारात त्यहाँको धारामा पानी सञ्चालन गरियो तर उही र उस्तै अरू धारामा पानी नआउनुले यसलाई प्रमाणित गर्दैन र ?

स्वयं खानेपानी मन्त्रालयकै प्राङ्गणको धारा हावाको सुस्केरा हालिरहँदा बिहान बिहानै झुट बोलेकोमा ग्लानि भयो होला कि नाइँ सचिवज्यूलाई !

हेरौँ कहिले झर्छ यहाँका सबै धारामा पानी !