काठमाडौँ । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेतले सोमबार राति आइपुगेको मेसिन जडान अगाडि बढाइएको बताए । उनका अनुसार अबको एक महिनाभित्रै टेमोथेरापीबाट उपचार सञ्चालन हुनेछ ।
यसभन्दा अगाडि वीरका लागि ल्याइएको टोमोथेरापी मेसिन लामो समय बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालको खुला चौरमा राखिएको थियो । त्यतिबेला मेसिन राख्ने संरचना तयार नगरी हतार–हतार टोमोथेरापी मेसिन खरिद गर्दा थोत्रिएको थियो ।
२०७४ असार २९ मा अमेरिकी कम्पनीको नेपालस्थित एजेन्ट लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीसँग वीर अस्पतालको व्यवस्थापकीय टिमले टोमोथेरापी मेसिन खरिदको सम्झौता गरेको थियो ।







