महेन्द्रनगर (धनुषा) । जनकपुरधामको राजदेवी शक्तिपीठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ ।
दसैँको सातौँ दिन शनिबार राजा जनककी कुलदेवीको रूपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामीका साथ फूलपाती भित्र्याइएको हो ।
मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा पाठ गरेका थिए ।
नवरात्र प्रारम्भ भएदेखि नै यहाँका प्रमुख शक्तिपीठ बौद्धिमाइ, अमरखाना माइ, भगवती मन्दिर, सोनासतिलगायत अन्य शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
राजदेवी मन्दिर परिसरमा विशेष मेला पनि लागेको छ । दसैँ मेला यहाँ गाउँ गाउँबाट मानिस आएका छन् । मेलामा अवाञ्छित गतिविधि हुननदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।