काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रूपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ ।
बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग गरी सहभुक्तानी (को-पेमेन्ट) कार्यविधि जारी गरेको जनाएको छ । उक्त कार्यविधि बोर्डबाट पारित भएको तीन महिनाभित्र लागू हुने बोर्डले जनाएको छ ।
कार्यविधि लागू भएपछि स्वास्थ्य बीमा गरेको व्यक्ति उपचार गर्न अस्पताल जाँदा लागेको खर्चको १० प्रतिशत आफ्नै खल्तीबाट व्यहोर्नुपर्छ ।
अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह-भुक्तानीको व्यवस्था लागू हुनेछ ।
तर आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले तथा सरकारले निःशुल्क निदान तथा उपचार गर्ने भनी तोकेका सरुवा रोगहरूमा सह-भुक्तानीको व्यवस्था लागू नहुने बताइएको छ ।