काठमाडौँ । सपना मल्लसहित पाँच जना दोषी ठहर भएका छन् । कागजी रुपमा पति बनाई ठुलो रकमको इन्सुरेन्स गराई हत्या गरी इन्सुरेन्सको रकम बुझ्ने मल्लसहित पाँच जना सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका हुन् ।
विशेष अदालतले मंगलबार कागजी पत्नी सपना मल्लसहित ५ जनालाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धन बहादुर कार्कीले जानकारी दिए ।
विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सम्पत्ति शुद्धीकरणको कसुरमा मल्लसहित ५ जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना समेत सुनाएको छ ।
कार्कीका अनुसार प्रतिवादीहरू सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई जनही ८ वर्ष कैद हुने फैसला सुनाएको हो ।
विशेष अदालतले प्रतिवादी सपना मल्ललाई ७२ लाख १८ हजार, प्रतिवादी सञ्जीव अर्याललाई ८० लाख ३६ हजार, दीपक केसीलाई ६० लाख र सरदार अहमद खाँलाई २० लाख जरिवाना हुने फैसला समेत सुनाएको छ ।
प्रतिवादी रूपक राना भन्ने टोपबहादुर राना क्षेत्रीले अपराधमा मतियारको भूमिका निभाएको भन्दै रानालाई मुख्य प्रतिवादीको आधा सजाय गर्दै ४ वर्ष कैद र ३६ लाख ९ हजार जरिवाना हुने फैसला सुनाएको हो ।







