काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन् ।
मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले काँग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
समावेशी समानुपातिक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज नभएको उनको भनाइ छ । सभापति देउवाले अहिलेको संविधानले महिलालगायत सबै समुदायलाई समान अधिकार दिएकाले संसारका संविधानमध्ये उत्कृष्ट संविधान रहेको दाबी गरे । काँग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको उनको जिकिर छ ।
कार्यक्रममा नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलालाई सम्मान गरिएको थियो ।







