काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच विवाद देखिएको छ । गाउँपालिका अध्यक्ष महमद सउद र लेखापाल श्रीनारायण झाबिच विवाद देखिएको हो ।
गाउँपालिका अध्यक्ष सउदसँग विवाद भएपछि लेखापाल झा कार्यालय नै आउन छाडेका छन् । अध्यक्षसँगको टसलपछि उनी बिदामा बसेको बताइएको छ । अध्यक्ष सउदले लेखापाल लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको बताए । उनले भने, ‘उहाँ चैत लागेपछि कार्यालयमा आउनु भएको छैन । उहाँ आउन छाडेपछि अर्को लेखापालको व्यवस्था गर्दै छु ।’ लेखापाल लामो समय कार्यालय नआउँदा काम गर्न समस्या भएको उनले बताए ।
अस्वस्थ भएका कारण आफू बिदामा बसेको लेखापाल झाले बताए । उनले भने, ‘होलीपछि सन्चो छैन । म चैत २५ सम्म बिदामा बसेको छु ।’ लेखापाल झा बिदामा रहेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले जानकारी दिए । उनले भने, ‘उहाँ बिदामा हुनुहुन्छ । कार्यालयको काम रोकिएको छैन ।’
गाउँपालिकामा जनप्रतिनिधिहरूबिच पनि विवाद छ । जनप्रतिनिधिले अनावश्यक दबाब दिएका कारण लेखापाल झा बिदामा बसेका हुन् । अध्यक्षको तोक आदेशमा आर्थिक सहयोग गर्नुपर्ने दबाब आएपछि झा बिदामा बसेको स्रोतले जानकारी दियो । स्रोतले भन्यो, ‘अध्यक्षको तोक आदेशमा पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्नु परेको छ ।’ जनप्रतिनिधिले नेतृत्व गरेको कार्यालयमा काम गर्न असहज हुने गरेको पालिकाका कर्मचारीहरू बताउँछन् ।
लेखापाल झाले आफू होलीपछि बिदामा बसेको बताए पनि उनले चैत एक गते यता हाजिर गरेका छैनन् । झाले हाजिर नगरे पनि पालिकाको काम भने नरोकिएको प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता नन्दलाल यादवका अनुसार अध्यक्ष र लेखापालबिच सामान्य टसल रहेको जानकारी दिए ।
