काठमाडौँ । तत्कालीन माओवादी लडाकूका डिभिजन कमाण्डर रहेका कालीबहादुर खाम मंगलबार दिउँसो काठमाडौँमा पक्राउ पर्नु धेरैका लागि अनपेक्षित घटना थियो। किनभने खाममाथि गम्भीर अभियोग लागेको १५ वर्ष बितिसकेको थियो। १५ वर्षदेखि प्रहरीको रेकर्डमा उनी ‘फरार’ थिए। १५ वर्ष बितिसकेकाले उनको बारेमा धेरैलाई चासो लाग्नसमेत छाडिसकेको थियो।
खाममाथिको अभियोग भने गम्भीर थियो। काठमाडौँ, कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरी चितवन पुर्याएको र त्यहाँ यातना दिएर हत्या गरेको अभियोग खाममाथि लागेको थियो। तर माओवादी नेतृत्वको आडमा सधैँ सत्ताको संरक्षण पाएकाले उनलाई पक्रने आँट यसबीचमा कसैले गरेन।
अहिले झन् माओवादी नेतृत्वकै सरकार रहेकाले खाम पक्राउ पर्ने आकलन कसैले गरेका थिएनन्। तर मंगलबार काठमाडौँ प्रहरीले यस्तै अनपेक्षित खबर प्रवाह गर्यो। परिसरको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्वमा छन् एसएसपी भूपेन्द्र खत्री।
खत्री तिनै प्रहरी अधिकृत हुन् जसले झण्डै पाँच वर्ष पहिले रौतहट जिल्ला प्रहरीको नेतृत्व गर्न पुगेका बेला (त्यसबेला उनी एसपी थिए) १२ वर्ष पुरानो रौतहट बम काण्डका आरोपी, काँग्रेस नेता मोहम्मद आफताब आलमलाई पक्राउ गरेका थिए। आलमको प्रभाव काँग्रेसभित्र मात्र होइन, सबैतिर थियो। १२ वर्षसम्म उनलाई छुने आँट कसैले नगरेका बेला खत्रीले जोखिम मोलेर उनलाई पक्राउ गरेका थिए।
त्यसपछि रौतहट जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका आलम अहिलेसम्म कारागारमै छन्। जिल्ला अदालतको आदेशविरुद्ध उनी सर्वोच्चसम्म पुगे पनि थुनामुक्त हुन सकेका छैनन्। रौतहट जिल्ला अदालत यो मुद्दाको अन्तिम फैसला सुनाउने तयारीमा छ।
प्रहरी प्रधान कार्यालयका एक अधिकारी खत्रीले आँट नगरेको भए त्यसबेला आलम र अहिले खाम पनि पक्राउ नपर्ने बताउँछन्। “प्रहरीमा केही यस्ता अफिसर छन् जो कानूनले निर्दिष्ट गरेको जिम्मेवारी बहन गर्नेक्रममा जस्तोसुकै दबाब आए पनि थेग्न सक्छन्, विचलित हुँदैनन्,” उनले भने, “चर्चामा आउन नखोज्ने तर कुनै दबाबसँग नगल्ने त्यस्तै अफिसरमध्ये खत्री पनि हुन्।”
खाम जोडिएको अपहरण र हत्या
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई १७ लाख रुपैयाँ र हतियार चोरी गरेको आरोप लगाएर माओवादीका लडाकुहरूले कोटेश्वरबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएका थिए। शक्तिखोरमा माओवादी लडाकूको तेस्रो डिभिजन कार्यालय थियो जो शक्तिखोर शिविरका नामले पनि चिनिन्थ्यो। त्यो डिभिजनका प्रमुख कालीबहादुर खाम नै थिए।
उनलाई शक्तिखोरस्थित लडाकू शिविरमा पुर्याएपछि बेस्सरी यातना दिइएको, त्यहीक्रममा उनको मृत्यु भएको तथ्य अदालतले नै स्थापित गरिसकेको छ।
खाम काठमाडौँमा रामहरिकै घरमा डेरा लिएर बसेका थिए। चितवनका कमाण्डर भए पनि उनको र परिवारको बसोबास काठमाडौँमै ज्यादा थियो। त्यही डेरामा बस्नेक्रममा त्यहाँ राखिएको पैसा र हतियार हराएको भन्दै उनले २०६५ वैशाख २८ गते रामहरिलाई अपहरण गराएका थिए।
गोविन्दबहादुर बटालासहितको टोलीले घरबेटी श्रेष्ठसहित केशव अधिकारी, गंगाराम थापालाई अपहरण गरेर चितवनस्थित शक्तिखोर शिविरमा पुर्याएको थियो। त्यहाँ दिइएको शारीरिक यातनाका क्रममा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजानेक्रममा बाटैमा उनको मृत्यु भएपछि उनीहरूले बोरामा ढुङ्गा राखेर शव पुलबाट नारायणी नदीमा फालेको पछि पुष्टि भएको थियो।
२०६८ जेठ १७ गते जिल्ला अदालत चितवनले बटालालाई ३ वर्ष कैद हुने फैसला गर्यो। श्रेष्ठको अपहरण र कुटपिटको मुख्य योजनाकारको रूपमा खामको नाम रहे पनि उनी फरारै सूचीमा रहिरहे। घटनामा संलग्न अधिकांश माओवादी लडाकुहरू पक्राउ परे पनि खाम भने प्रहरीको फरार सूचीमा मात्र रहे।
उनी प्रायः काठमाडौँमै बस्थे। कानूनी रूपमा उनलाई फरार भनिए पनि राज्य–संयन्त्रहरू उनीबारे भलिभाँती जानकार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला त उनी बालुवाटार नै ओहोरदोहोर गरिरहन्थे।
उनको बसोबास प्रायः ठमेल र कपन क्षेत्रमा हुने गर्थ्यो। तर माओवादी नेतृत्वले संरक्षण गरेकाले उनलाई पक्राउ गर्ने आँट कसैले गरेनन्। बरु उनी यसबीचमा उनी हतियारको आडमा विभिन्न तस्करी गर्ने कार्यमा संलग्न भएका थिए।
खाम रुकुम पूर्वका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि उनी नेकपाभित्र ओली समूहमा थिए। रामबहादुर थापा ‘बादल’सँग निकट भएकाले उनलाई ओलीकै संरक्षण मिलेको थियो।







