काठमाडौँ । नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु भएको छ ।
मंगलवार गोरखा दरबारबाट यात्रा सुरु भएको हो । अधिकृतको कमाण्डमा ४८ जना यात्रामा सहभागी छन् ।
उनीहरूलाई एक कार्यक्रमका बीच तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर बिदाइ गरिएको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए ।
नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रूपमा झण्डा र टर्च हस्तान्तरण गरेका हुन् ।
गोरखाबाट सुरु भएको यात्रा तनहुँ पाल्पा हुदैं जितगढी पुग्ने गणपति क्षेत्रीले बताए ।
रुपन्देहीको टोली वैशाख ५ गते जितगढी पुगेर विजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए ।
उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन ९वैशाख ७ गते० लाई विजय उत्सवको रूपमा मनाउने गरिन्छ ।
ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ पदयात्रा सुरु गरिएको पृतनापति पौडेलले बताए । पर्यटन प्रवर्द्धनमा समेत यसले सहयोग पुर्याउने उनले जानकारी दिए ।
करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।