काठमाडौँ । एकीकृत समाजवादीकी नेतृ रमा आले मगर २४ दिनदेखि बिना विभागीय मन्त्री छिन् । १२ मन्त्रालय र १३ मन्त्री रहेको बागमती प्रदेशमा २४ दिनदेखि आले बिना विभागीय मन्त्री रहनु परेको हो ।
माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय, एमालेले पाँच मन्त्रालय, एकीकृत समाजवादीले दुई र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय सम्हालिरहेका छन् ।
मगरले मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दबाब बढाउँदै आएकी छन् । गत आइतबार काठमाडौँबाट फर्किए लगत्तै उनले मुख्यमन्त्रीलाई भेटेर तत्काल मन्त्रालय दिन आग्रह गरिन् ।
मुख्यमन्त्रीले खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्रालय लिन आग्रह गरेको मगरले जानकारी दिए । मन्त्री मगरले आफूलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको दाबी गरिन् ।
२० चैतमा मुख्यमन्त्री जम्कट्टेल, एमाले संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, एकीकृत समाजवादी दलका नेता कृष्ण शर्मा खनाल र मगरबीचको सहमति भौतिक मन्त्रालयको जिम्मेवारी दिने रहेको मगरको भनाइ छ ।
माओवादीले भने भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति नभई एकीकृत समाजवादीले दाबी मात्र गरेको बताएको छ ।