काठमाडौँ । सेवा प्रवाहमा सुधारको प्रयास गरिरहेको गृह मन्त्रालयले सिंहदरवार परिसरभित्र अपाङ्गतामैत्री पार्किङ स्थल तोक्न निर्देशन दिएको छ ।
सिंहदरवार परिसरलाई अपाङ्गतामैत्री बनाउन सिंहदरवार परिसरभित्र आगन्तुकको रूपमा आउने अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनको लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरवारलाई गृहले निर्देशन दिएको हो । गृहले पार्किङ एरिया तोकी सो को मार्किङ समेत गर्ने व्यवस्था मिलाउन भनेको छ ।
‘सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन सिंहदरवार परिसरभित्र आगन्तुकको रूपमा आउने अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनलागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाई सो को मार्किङ समेत गर्ने व्यवस्था मिलाउनु हुन आदेशअनुसार अनुरोध छ,’ गृहको निर्देशनमा भनिएको छ । गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरूलाई सवारी साधन पार्किङमा सहजता हुने विश्वास अधिकारीहरूको छ ।
सिंहदरवाभित्रै निर्मित कतिपय संरचनाहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि त्यति सहज देखिँदैनन् । साथै परिसरभित्रै कार्यरत कर्मचारीदेखि आगन्तुकहरुकालागिसमेत पार्किङ बनाउन सकिएको देखिँदैन । जसका कारण पार्किङमा निकै समस्या देखिने गरेको छ ।
सिंहदरवारभित्रै अस्तव्यस्त पार्किङ भएसँगै केही साताअघि मात्रै नियमित ट्राफिक प्रहरीको टोली नै तैनाथ गर्ने निर्णय गरिएको थियो ।
यतिबेला गृह प्रशासनले नागरिकमैत्री निर्णयमा जोड दिएको देखिन्छ । अन्य मन्त्रालयको जिम्मेवारीमा पर्ने भए पनि कतिपय विषयहरुलाई ती मन्त्रालयहरूको प्राथमिकतामा नपर्दा थप जिम्मेवारीसमेत गृहले नै निर्वाह गर्नुपर्ने अवस्था आईलागेको गृह अधिकारीहरू बताउँछन् । ‘विषयगत मन्त्रालयहरू छन् तर गरिदिँदैनन्’ ती अधिकारीले भने, ‘गृहको आफ्नो महत्त्वपूर्ण जिम्मेवारी त छँदैछ आईपर्ने तथा देखा पर्ने समस्याहरूको समेत भ्याएपुगेसम्म सम्बोधन गर्ने प्रयास गरेको छ’
मुलुकको प्रमुख प्रशासनिक केन्द्रलाई सबैका लागि उत्तिकै सहज बनाउने गरी हरेक क्षेत्रमा खड्किएका सुधारहरुबारे नियमित छलफल गर्दै त्यसलाई कार्यान्वयनका लागि सचिव एकनारायण अर्यालले सक्रियता बताउँदै लगेका छन् ।







