काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताएका छन् ।
बुधबार ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको धारणा राखेका हुन् ।
महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको जिकिर गरे । विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार र बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायतले सम्बोधन गरेका थिए। दुई सय जना प्रतिनिधि रहेको उक्त अधिवेशनबाट ७५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।