काठमाडौँ । सत्ता संकट व्यहोरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग मङ्गलवार भेट गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर ‘प्रचण्ड’ले राष्ट्रपतिसँग भेट गरेका हुन् । दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।
बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय सुनाएका थिए ।