काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
आइतबार बिहान काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।
माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।
सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिई नसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए । बैठकमा साउनको पहिलो हप्ता विश्वासको मत लिनेबारे छलफल भएको उनले बताए ।
ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौँडा जाने तयारीमा छन् ।







