काठमाडौँ । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका-५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०/३० को सहकार्य रावणको मूर्तिसहित पार्क निर्माण हुन लागेको पार्कलाई सर्वोच्चले रोक्न आदेश दिएको हो ।
२०७७ सालमा सुरु भएको काम बिचमा केही समय रोकिएपनि पछिल्लो समय निर्माण कार्य चलिरहेको थियो । पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने, पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजनासहित नगरपालिकाले योजना अगाडि बढाएको थियो ।
उक्त योजनाविरुद्ध पर्वतका केदारनाथ दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बेनी नगरपालिका, पुलत्स्य-पुलाहश्रम क्षेत्र विकास कोषलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।








