काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कांग्रेस र एमालेको सत्ता साझेदारीको आधार नै संविधान तोडफोड रहेको बताएका छन् । उनले दुई ठूला पार्टीले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजेको पनि बताएका छन् ।
संघीय संसद् भवनमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले अब संविधानको रक्षा गर्नेतिर लाग्नुपर्ने बताए ।
‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरूले नै सार्वजनिक गरिसक्नुभएको छ,’ मन्त्री बस्नेतले भने, ‘अब प्रश्न संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरूले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ ।’
माओवादी केन्द्रले संविधानको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बस्नेतको भनाइ थियो । देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लैजानुपर्ने उनले बताए । ुमुलुकका दुई ठूला दलले संविधानलाई दोष देखिरहनुभएको छ । उहाँहरू जनताको अधिकार सीमित गर्ने बाटोमा हिँडिरहनुभएको छ,’ उनले भने ।







