काठमाडौँ । सरकारले भारतका लागि नेपालका राजदूत शंकर शर्माको म्याद १५ दिनको लागि थपेको छ ।
एमाले र काँग्रेसको सहकार्यमा बनेको केपी ओली नेतृत्वको सरकारले शर्मालाई थप १५ दिनको लागि भारतमै बसेर काम गर्ने जिम्मेवारी प्रदान गरेको हो ।
मन्त्रिपरिषद्को आइतबार बसेको पहिलो बैठकले शर्माको सम्बन्धमा निर्णय गरेको र उक्त निर्णय नयाँ दिल्ली पुगिसकेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबार शर्माको म्याद सकिएको थियो । बुधबारदेखि लागू हुने गरट्ठ १५ दिनको लागि म्याद थपिएको हो । सरकार परिवर्तन भएपछि फिर्ता बोलाउने निर्णय गरेको भारतका राजदूत शर्मालाई थप १५ दिनको म्याद थपिएको हो ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको सरकारले जेठ २५ मा भारतसहित अन्य मुलुक नौ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोहीअनुसार अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यलगायत नेपाल फर्किइसकेका छन् ।
दाहाल सरकारले असार ७ मा भारतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीसहित ८ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । दाहाल नेतृत्वको सरकारमा एमाले पनि सामेल थियो ।







