काठमाडौँ । अर्थ मन्त्रालयले स्थायी कर्मचारी फाजिलमा हुँदाहुँदै मन्त्रालयको सहमति बिना करारमा कर्मचारी राख्न नगर्न निर्देशन दिएको छ । मङ्गलवार अर्थ मन्त्रालयद्वारा जारी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शनमा स्थायी दरबन्दी रिक्त भएको अवस्थामा फाजिलका कर्मचारीबाट पदपूर्ति गर्ने भनेको हो ।
सेवा करारमा राख्न सकिने पदको स्थायी दरबन्दी रिक्त भएको अवस्थामा मन्त्रालय अन्तर्गत फाजिलमा रहेका कर्मचारीबाट पदपूर्ति गर्ने र सो नभएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउन पनि मार्गदर्शनमा भनिएको छ ।
फाजिलमा रहेको तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी पदपूर्ति हुन नसकेमा करारमा लिनुअघि अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था समेत गरिएको मार्गदर्शनमा उल्लेख छ ।
सबै सचिवहरूलाई पत्र लेख्दै अर्थ सचिव मधु कुमार मरासिनीले बजेट कार्यान्वयन प्रभावकारी बनाउने उक्त व्यवस्था गरिएको जनाएका छन् ।