काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको रिटमाथि सुनुवाइ हुँदैछ । झाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।
न्यायाधीश ढुङ्गानाको एकल इजलासमा यो निवेदन दोस्रो नम्बरमा पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले सङ्गठित अपराधमा अनुसन्धानका लागि पटक–पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखरले असार ३० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि थुनामा पठाएको छ । जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको हो ।
झाका छोराले दायर गरेको निवेदनमा बुवाले आफू अनुसन्धानलाई सहयोग गर्ने देखि बिरामीसम्म रहेको दाबी बन्दीको निवेदनमा गरिएको छ ।







