काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको छ ।
सूचनामा ‘नवनियुक्त मुख्यमन्त्री ज्यूलाई बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरू कृपया फूल, माला, टीका, खादा लगायतका सामग्री नल्याई पाल्नुहुन हार्दिक अनुरोध छ’, उल्लेख छ ।
शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएको भएपनि अन्य दिनको भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गर्न लगाएका थिए । ‘शुभकामना, बधाई लिँदा खादा, माला लगाउने परम्परा राम्रो भएन’, उनले भने, ‘मैले नै नलगाउने भनेर सूचना निकाल्न लगाएँ ।’
यस्तै, नवनियुक्त मुख्यमन्त्री आचार्यले यात्राको क्रममा सुरक्षा निकायबाट गरिने स्कटिङ्गलाई घटाएका छन् । आफूसँग रहेका टोलीबाहेक जिल्ला तहमा पुग्दा त्यहाँबाट गरिने स्कटिङ्गलाई रोकिएको उनले बताएका छन् ।