काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारको आरोप छ ।
कोइरालाले आर्थिक वर्ष २०८०/८१ मा औषधि आपूर्ति गरेबापत नियम अनुसार पाउनुपर्ने रकमको भुक्तानीको बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेकी थिइन् । त्यसबाहेक पनि उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार, २०७९ कात्तिक ६ गते ६० हजार गरी जम्मा १ लाख ४ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।