काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले केन्द्रीय सदस्यद्वय मञ्जु शर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट) लाई शपथ गराएका थिए ।
अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च) मा भएको व्यवस्थाअनुसार मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।
मनोनीत गरिएका दुई जना केन्द्रीय सदस्य शपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बाँकी सदस्यलाई गत साउन २० गते शपथ गराइएको थियो ।