बधाई र शुभकामना थाप्न बालकोट आएका बालेनलाई खादा ओढाएर तबला उपहार दिई पठाएका ओली अहिले बालेनले सामाजिक सञ्जालमा लगाउने आक्षेपसँग मात्र भिडिरहेका छैनन्, त्यसविरुद्ध प्रतिवाद गर्न कार्यकर्तालाई नै निर्देशन दिइरहेछन् । आखिर कसरी यो हदसम्म बिग्रियो ओली-बालेन सम्बन्ध ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन) बीच पछिल्लो समय चलिरहेको आरोप र प्रत्यारोपले अहिलेको राजनीतिक वृत्त बेस्सरी गर्माएको छ । राजनीति र सामाजिक सञ्जालको बहस दुबैलाई नजिकबाट नियालिरहेकाहरू ओली र बालेनबीचको आरोप-प्रत्यारोपलाई अस्वाभाविक भने मान्दैनन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीविरुद्ध खरो टिप्पणी गर्दै आएका बालेन पछिल्लो समय प्रायः हरेक विषयमा आलोचना गर्नबाट पछि हट्दैनन् ।
यसलाई बुझ्न अलि पहिलेका घटनाक्रममा फर्कौँ जतिखेर अहिले जस्तो मूलधारको राजनीति र त्यसलाई प्रतिनिधित्व गर्ने दलविरुद्ध एकत्रित भइरहेको युवा पुस्ताको ‘क्रेज’ बटुलेर बालेन हटकेक बनिसकेका थिएनन् । र पनि केही हदसम्म शहरमा छाएका बालेन २०७९ जेठ १६ गते काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएको जम्मा चार दिन पुगेको थियो । ठिक त्यही बेला एमाले नेतृ शान्ता चौधरीले फेसबुकमा एउटा फोटो सार्वजनिक गरिन् । अनौपचारिक पहिरनमा देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो निवासमा बालेनलाई स्वागत गरिरहेका थिए । ओलीले बालेनलाई स्वागत गर्दै गरेको फोटो फेसबुकमा राखेर चौधरीले लेखिन्, ‘अर्थपूर्ण भेट’ ।
काठमाडौँ महानगरका लागि एमालेले उम्मेदवार बनाएका केशव स्थापितलाई हराउँदै निर्वाचित भएका बालेनको ओलीसँगको भेटघाट त्यतिमै टुंगिएन, त्यसपछि पनि जारी रह्यो ।
२०७९ असार अन्त्यतिर बालेन आफ्नो टिमसहित फेरि ओली निवास पुगे । बालकोटबाट ओलीले बालेनलाई तबला उपहार दिएर पठाए । बालेन गायक भए पनि तबला उनको गीति जनराको वाद्य यन्त्र भने होइन । तैपनि ओलीसँगको उनको सम्बन्धमा उपहार साटासाटको महत्त्वपूर्ण सामग्री बन्यो ।

राजनीतिमा असम्भव केही छैन भन्ने कुरा प्रस्ट पारेको छ ओली-बालेन सम्बन्धमा पटाक्षेप भएको पछिल्लो प्रकरणले । भेटघाट र उपहारबाट शुरु भएको ओली-बालेन सम्बन्ध अहिले आरोप प्रत्यारोपसँगै फेसबुक ‘अनफलो’ अभियान र बहिष्कारसम्म पुगेको छ । मंगलबार इन्द्रजात्राका अवसरमा आयोजित राष्ट्रपति र प्रधानमन्त्री सहभागी कार्यक्रम बालेनले बहिष्कार गरेका छन् । यति मात्र होइन, पछिल्लो समय ओली-बालेनका समर्थन र विरोधमा सामाजिक सञ्जालमा एकखाले ‘युद्ध’ नै चलिरहेको छ ।
संसद्सम्मै पुगेको ओली-बालेन बहस
काठमाडौँको न्यूरोडमा सडक पेटी विस्तार गर्नेबारे मेयर बालेन र सडक विभागबीच देखिएको विवादमा एमालेले बालेनको आलोचना गरेको थियो । एमाले सचिव योगेश भट्टराईले सदनमै त्यस विषयमा कुरा उठाएका थिए । एमालेबाट निर्वाचित वडाध्यक्ष यस विषयमा बालेनको विपक्षमा देखिएसँगै बालेनले सामाजिक सञ्जालमा एमाले नेतृत्वको आलोचना गर्न थालेका थिए ।
न्यूरोडको सडक पेटी विस्तारमा असहयोग भएको आरोप लगाएका बालेनले सडक विभाग र काठमाडौँ सडक डिभिजन कार्यालयअघि महानगरको फोहोर थुपारे । गत जेठमा महानगर, सडक विभाग र न्यूरोड क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीचको विवाद उत्कर्षतिर पुग्दै गर्दा ओली आफै बालेनको आलोचनामा उत्रिएका थिए ।
“छिमेकीसँग रिस उठ्यो भने उसको ढोकामा फोहोर फालिदिने ? यो कुनै सभ्यता हो ?” ओलीले बालेनको नाम उल्लेख नगरी गरेको यस्तो टिप्पणीपछि बालेन र एमालेका कर्यकर्ताबीचको आरोप प्रत्यारोप नेतृत्व तहसम्मै पुग्यो । त्यसलगत्तै बालेनले ‘गिरिबन्धु टी इस्टेटको जग्गामा गर्न खोजेको नीतिगत घोटला’मा ओलीको संलग्नता रहेको आरोप लगाए । त्यसपछि भने ओलीले त्यस्ता टिप्पणीले आफूलाई कुनै फरक नपर्ने आशयको टिप्पणी गर्दै आफूले अनावश्यक वादविवाद गर्न नचाहेको बताए ।
यस्तै, बालेनको समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक पेज अनफलो गर्न आह्वान गरेपछि ओली र बालेनबीचको टकराव पुनः एक पटक सार्वजनिक बहसको विषय बन्यो । ओलीको फेसबुक पेज एक छिनमा ४० हजार भन्दा धेरैले अनफलो गरेको देखियो । यद्यपि, अहिले त्यो केही हदसम्म ‘रिकभर’ हुँदै गएको देखिन्छ ।
सामाजिक सञ्जालको निगरानी गर्ने अन्तर्राष्ट्रिय वेबसाइट ‘सोसल ब्लेड’का अनुसार केपी ओलीको आधिकारिक फेसबुक पेज लाइक गर्नेहरूको सङ्ख्या ६,३२,७०८ थियो । तर केही समयपछि यो पेज लाइक गर्नेहरूको संख्या ५,८९,००० मात्रै देखिएको थियो । वेबसाइटका अनुसार करिब दुई लाख जनाले केपी ओली र दुई लाख ५० हजार बढीले बालेनबारे फेसबुकमा चर्चा गरेका थिए ।
काठमाडौं महानगरको मेयर निर्वाचित हुनेबित्तिकै बालेनले नक्सामा अन्डरग्राउन्ड पार्किङ भनिए पनि सुविधा उपलब्ध नगराएका व्यावसायिक संरचनामाथि आँखा लगाए । यस्ता भवनको पार्किङ खुला गर्न मेयर बालेन आफै डोजर लिएर पनि पुगे ।
त्यही डोजरमा सवार भएर १२ मंसिर २०७९ मा मेयर बालेन थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्तीमा पुगे । बस्ती भत्काउन गएका महानगरका प्रहरी र सुकुम्वासीबिच घम्साघम्सी भयो ।
यो घम्साघम्सीबिच बस्ती नभत्काई फर्कियो महानगर । त्यसपछि ओलीले बालेनको नाम नलिइकनै सुकुम्वासी बस्तीमा डोजर नचलाउन भने । गरिबहरूमाथि अन्याय नगर्न भने । ओलीलाई तुरुन्तै जवाफ फर्काए बालेनले । ओलीले सुकुम्वासीका नाममा राजनीति गरेको भन्दै ओलीमाथि फेसबुक स्ट्याटसबाट प्रहार गर्न थाले ।
लगत्तै बालेनले लेखे, ‘अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईँको धारणा थाहा पाएँ । तपाईँबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।’
बालेनको आक्रोश यतिमै थामिएन । ‘सुकुम्वासीहरू तपाईँका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवस । तपाईँलाई जनता, नदीनाला र नेवार सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी, सुनधारा सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमानढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’ उनले लेखेका थिए ।
गत असारमा बागमतीमा आएको बाढीले सुकुम्वासी बस्ती डुबानमा प¥यो । बालेनले ओलीलाई कटाक्ष गर्ने मौका फेरी पाइहाले । उनले फेसबुकबाट ओलीलाई प्रहर गर्दै लेखे, ‘आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’
गिरिबन्धु टी-इस्टेटको विवाद
बालेन यतिमै रोकिएनन् । उनले फेरी सामाजिक सञ्जालमा गिरिबन्धु टी–इस्टेटको कुरा उप्काउँदै ओलीमाथि कटाक्ष गरे, ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’
गिरिबन्धु टी-इस्टेटको विषयमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदियो । त्यसयता निरन्तरजसो बालेनले ओलीलाई ‘गिरिबन्धु’को प्रसङ्ग कोट्याउँदै फेसबुकबाट जिस्काइरहने गरेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हटेर ओली नेतृत्वमा सरकार बन्दा ओली र शेरबहादुर देउवाको तस्बिर फेसबुकमा राख्दै बालेनले लेखे, ‘यो समय गिरिबन्धु चियाको हो ।’ फेरी बालेनले फेसबुकमा गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीको लामो सूचीसमेत सार्वजनिक गरे ।
जसमा पहिलो नम्बरमा थियो, ‘केपी ओली ट्रस्ट’ ।
बालेनले बारम्बार गिरिबन्धु टी-इस्टेटको कुरा कोट्याइरहेपछि प्रतिनिधिसभाको आँगनमा पत्रकारले ओलीलाई २१ जेठमा बालेनको स्ट्याटसबारे सोधे । जवाफमा ओलीले झोक्किँदै भने, “बालेनलाई सोध्नुहोस् ।”
प्रतिनिधि सभाको आँगनमा ओलीले उक्त कुरा बोलेको दिन बिहान बालेनले ओलीको नामै लेखेर फेसबुकमा ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउनु होला माननीय केपी ओलीज्यू,’ लेखेका थिए ।
बालेनले ओलीलाई गिरिबन्धुको नाम लिएर फेसबुकमा स्ट्याटस लेख्नुको कारण थियो, न्यूरोडको फुटपाथ विस्तार अभियान । न्यूरोडको फुटपाथ विस्तार गर्ने बालेनको योजनामा बाधक हुन पुगे महानगरको २२ नम्बरका वडा अध्यक्ष चिनीकाजी महर्जन । एमालेबाट निर्वाचित उनलाई ओलीले नै उचालेर न्यूरोडको फुटपाथ विस्तारमा बाधक बनेको बालेनको बुझाइ थियो । वडाध्यक्ष उचालेर आफ्नो योजना रोक्न खोजेपछि बालेनले ओलीलाई गिरिबन्धु टी–इस्टेटको झटारो हाने ।
बालेनले लेखेका थिए, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’
ओलीले बालेनलाई दिए ‘झिँगा’को संज्ञा
आपसी सम्बन्धमा चिसोपन बढिरहेकै बेला जेठ २५ मा चितवन पुगेर ओलीले बालेनलाई ‘झिँगा’को संज्ञा दिन भ्याए । बालेनले लेखिरहेका आफूलक्षित स्ट्याटसप्रति इंगित गर्दै ओलीले भने, “भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर ।”
यस्तै काठमाडौं महानगरले एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको काठमाडौं बालुवाटारस्थित घरबाट १४ जेठमा एक बालिकाको उद्धार गर्यो । महानगरका अनुसार ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको सुनाएकी थिइन् ।
पूर्व प्रतिनिधिसभा सदस्य र वर्तमान प्रदेशसभा सदस्यको घरमा नै बालिकाको श्रम शोषण भएको ठहर गर्दै महानगर शर्माविरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुग्यो ।
प्रहरीले उजुरी दर्ता गर्नु अगावै यो विषय रेखाकुमारी शर्मासम्म पुर्याएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘जेठ २५ गतेदेखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसदविरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ ।’
बालिकाका बुबा कालिचरण चौधरीले २७ जेठमा महानगरविरुद्ध बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतले भने बन्दी प्रत्यक्षीकरणको मुद्दा खारेज गर्दै बालिकाका बुबा आमाले भेट्न पाउने गरी महानगरले बालिकाको पालनपोषण शिक्षादीक्षा गर्नुपर्ने आदेश दियो ।
“सर्वोच्च अदालतमा बालिकाले आफ्ना बुबालाई पहिचान गर्न सकिनन्,” बालेन सचिवालयको दाबी छ, “त्यसपछि हामी रेखाकुमारी शर्माले बालिकालाई दास बनाएर राखेकी हुन् भन्ने निष्कर्षमा पुग्यौँ ।”
आफूविरुद्ध मुद्दा दायर भएपछि महानगरले पनि शर्माविरुद्ध बालबालिका ऐन र मुलुकी संहिताको हवाला दिँदै प्रहरीमा जाहेरी दियो । यो जाहेरी दर्ता हुँदै गर्दा शर्मा आफूलाई पक्राउ गर्न नहुने मागसहित निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुगिन् । ३२ जेठमा पाटन उच्च अदालतले शर्माको पक्षमा अन्तरिम आदेश दियो ।
त्यसपछि २३ साउनमा उच्च अदालत पाटनले शर्माको रिट खारेज गर्दै शर्मामाथि अनुसन्धान गर्ने बाटो खुलायो । काठमाडौं प्रहरी परिसरका अनुसार महानगरको उजुरीपछि शर्मालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी माग गरेपछि अदालतले पक्राउ पुर्जी भने जारी गरेन ।
प्रहरीको यो भनाइकाबीच फेरी बालेनले शर्माको फोटो फेसबुकमा राख्दै ओलीलाई सम्बोधन गर्दै लेखे, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ ।’
बालेन यतिमै रोकिएनन्, उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखे, ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’
त्यसलगत्तै बालेनले फेरि रेखा शर्माको प्रसङ्ग उप्काउँदै ओलीलाई विदेशी इशारामा चल्ने नेताको आरोप लगाए । शर्माविरुद्धको उजुरी प्रहरीले अगाडि नबढाएको प्रसंगसहित उनले लेखे, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, तपाईँ आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईँजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’
यसैगरी सरकार र एमालेले खोला किनारको मापदण्डमा बालेनलाई दोषी देखाउन खोजेपछि बालेनले फेसबुकमार्फत यस विषयमा दुई वटा प्रष्टीकरण लेखे । २३ भदौ र २६ भदौमा बालेनले यस विषयमा प्रष्टीकरण दिए । २३ भदौमा उनले महानगरविरुद्ध जनता उचाल्ने काम बन्द गर्न आग्रह गरे ।
महानगरले कसैको घर नभत्काउने बाचा गर्दै बालेनले लेखे, ‘तपाईँहरू न्याय खोज्नुहुन्छ भने काठमाडौँ महानगरलाई गाली गरेर तपाईँले न्याय पाउनु हुन्न । तपाईँकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानून किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नुहोला ।’
यसको तीन दिनपछि बालेनले फेरि फेसबुकमा यही विषयमा प्रष्टीकरण दिए । खोलाको मापदण्ड तयार गर्दा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको बताउँदै बालेनले फेसबुकमा लेखे, ‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईँले थाहा पाउनु भन्दा पनि तीन वर्ष अगाडि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।’
सर्वोच्चले फैसला गर्ने समयमा प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्म एमालेकै रहेको स्मरण गर्दै बालेनले लेखे, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली, वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन । हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्नपर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ ।’
यति मात्र होइन, बालेनले ओलीलाई झटारो हान्न अझै छाडेनन् । २९ भदौमा बाल दिवसको दिन बालेनले फेसबुकबाट प्रधानमन्त्री ओलीलाई अझ उग्र बनेर आक्षेप लगाए, ‘पीडित बालिकाहरूले प्रम खडग प्रसाद ओलीको कारण न्याय नपाएर मर्नुपरेको कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वयम् प्रमज्यूलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
त्यसलगतै त्यसै दिन दिउँसो एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीको बालेनप्रतिको रिस पोखियो, “अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ ।” बालेनसँग प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई मैदानमा उत्रिन निर्देशन दिँदै ओलीले भने, “निक्लिनुपरयो नि मैदानमा, बोल्नुपर्छ । आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ ।”
विश्वमै प्रधानमन्त्री र मेयरबीच बिरलै यस्तो वादविवाद हुन्छ । चिसिएको यो सम्बन्धमा दुबै पक्षले आफू चाहिँ सही भएको दाबी गर्दै आएका छन् ।







