नेपालगञ्ज । संविधान दिवसको अवसरमा नेपालगञ्जमा आयोजित १० किलोमिटर नाइट रन प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले पुरुष र महिला तर्फको उपाधि जितेका छन्।
प्रतियोगितामा मुकेश पालले ३१ मिनेट ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्ट ३२ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी दोस्रो स्थानमा रहे भने किरण सिंह बोगटी ३२ मिनेट ५४ सेकेन्डको समय निकाल्दै तेस्रो भए।
महिला खुला समूहमा गीता साहुले ५९ मिनेट १६ सेकेन्डमा दूरी पार गरी पहिलो स्थान हासिल गरिन्। कोहलपुरकी स्वस्तिका शाही ५१ मिनेट ६ सेकेन्डको समयमा दोस्रो भइन् भने सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन पार गर्दै तेस्रो स्थानमा रहिन्।
पुरुष र महिला दुवै समूहका शीर्ष तीन स्थान हासिल गर्ने धावकहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार, पदक र प्रमाणपत्र प्राप्त गरे। विजयी धावकहरूलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राखेप सदस्य दिपेन्द्र विष्टले पुरस्कार वितरण गरे।
विजेता मुकेश पालले पहिलोपटक रातको समयमा दौडन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए। “इतिहास बनाउने मौका पाएँ, रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ,” पालले भने।
महिला तर्फको विजेता गीता साहुले पनि ठूलो प्रतियोगितामा पहिलोपटक भाग लिँदै नसोचेको नतिजा हात पार्दा खुशी लागेको बताइन्। “पहिलोपटक यति धेरै पैसा जितेकी छु, यो पैसा आमालाई दिनेछु,” उनले भनिन्।
भेट्रानतर्फ पनि उत्साहजनक प्रतिस्पर्धा
भेट्रान पुरुषतर्फ रैवत दाहालले ३८ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। बाँके खजुराका भरत श्रेष्ठले ४८ मिनेट ५६ सेकेन्डमा दौड समाप्त गरी दोस्रो स्थानमा रहे भने महेन्द्र बज्राचार्यले ४९ मिनेट १९ सेकेन्डको समयमा तेस्रो स्थान हासिल गरे। विजेताहरूलाई लुम्बिनी प्रदेशका निवर्तमान सदस्यसचिव भीम ओली र समाजसेवी लीलबहादुर थापाले पुरस्कार प्रदान गरे।
विजेता रैवत दाहालले युवा पुस्तालाई दौडको महत्त्व बुझाउन आफू निरन्तर दौडिरहेको बताए। “रातको समयमा दौडँदा फरक अनुभव हुने रहेछ, धेरैभन्दा धेरै मानिसले यस्तो प्रतियोगितामा सहभागी हुनुपर्छ,” उनले भने।
प्रतियोगिताको विशेष आकर्षण
नेपालगञ्जको प्रवेशद्वारमा निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीचोक, धम्बोजीचोक, पुष्पलालचोक, कारकादोचोक हुँदै राँझा नजिक पुगेर पुनः सोही रुटमा बीपीचोक पुगेपछि समाप्त भएको थियो।
नेपालमै पहिलोपटक आयोजना गरिएको नाइट रन सफल भएपछि आयोजक मण्डल तथा स्थानीय नेपालगञ्जवासी निकै उत्साहित देखिएका थिए। प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गरेका थिए।









