काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि १२ जना कर्मचारी माग गरेको छ ।
नजिकिँदै गरेको चाडपर्वहरूमा बजार अनुगमनका लागि १२ जना कर्मचारी आवश्यक रहेको भन्दै उद्योग मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग उक्त संख्यामा कर्मचारी माग गरेको हो । सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा शुक्रवार बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले उद्योग र गृह मन्त्रालयमा रिक्त दरबन्दी तीन दिनभित्र पूर्ति गर्ने निर्णय गर्दै व्यवस्थापनका लागि सामान्य प्रशासनलाई निर्देशन दिएको थियो ।
नजिकिँदै गरेको चाडपर्वहरूमा संयुक्त बजार अनुगमनको दायरा र सघनता अभिवृद्धि गर्न आवश्यक पर्ने जनशक्तिको विवरण उद्योग मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध गराउने बैठकको निर्णय बमोजिम उद्योगले बजार अनुगमनका लागि जनशक्ति माग गरेको हो । सो विवरण अनुसार आवश्यक जनशक्ति व्यवस्थापन सामान्य प्रशासन मन्त्रालयले गर्ने निर्णय भएको थियो ।