काठमाडौँ । ऊर्जा मन्त्रालयमा सोमबार(आज) आयोजित पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई बोल्न नदिँदै कार्यक्रम अचानक अन्त्य गरिदिएका छन्। लाल आयोगले डेडिकेटेड र ट्रंकलाइन विवादमा दिएको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले एक जरुरी बैठक छ भन्दै पत्रकार सम्मेलनबीचमा नै उठेर हिँडेपछि राज्यमन्त्रीले पत्रकारहरूको प्रश्नको जवाफ दिन सचिवलाई रोक लगाएका हुन्।
कार्यक्रम सुरुमा सचिव आचार्यले सञ्चालन गरेका थिए, जसमा उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिएको जानकारी गराउँदै मन्त्रीलाई प्रश्न सोध्न पत्रकारलाई आमन्त्रण गरेका थिए। ऊर्जा मन्त्री खड्का र पत्रकारहरूबिच लगभग १५ मिनेट प्रश्नोत्तर भए पनि राज्यमन्त्री तामाङले कुनै पनि प्रश्नको जवाफ दिन पाएका थिएनन्।
अचानक, मन्त्री खड्काले आफ्नो घडी हेर्दै एक जरुरी मिटिङमा जानुपर्ने बताउँदै सचिव र राज्यमन्त्रीलाई पत्रकारहरूको प्रश्नको जवाफ दिन आग्रह गर्दै बैठकबाट बाहिर निस्किए। मन्त्री बाहिरिएपछि पत्रकारहरूले सचिवलाई प्रश्न सोध्न थालेका थिए, तर राज्यमन्त्री तामाङले सचिवलाई जवाफ दिन रोकेर भने, “अब क्लोज गरेर धन्यवाद दिनुस्, सकियो।” सचिव आचार्यले जवाफ दिने अनुमति माग्दा पनि राज्यमन्त्रीले अनुमति नदिएर कार्यक्रमलाई जबरजस्ती बन्द गरिदिए।
राज्यमन्त्री तामाङले सचिवलाई थप बोल्नबाट रोक्दै भने,“मन्त्री हिँडेपछि तपाईँले जवाफ दिएर केही फाइदा छैन।” यसले सचिव आचार्यलाई लज्जित बनाएको दृश्य देखियो र पत्रकारहरू र अन्य सहभागीहरू असमञ्जसमा परे।







